कुलुङ संघको हालसम्मको उपलब्धी र बाँकी काम

– केडी रेम्नीसीङ,
 
आदिवासी पहिचानको आन्दोलनमा आफूलाई अग्रमोर्चामा उभ्याएको कुलुङ समुदाय र नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघको संघर्षमय इतिहास आदिवासी आन्दोलनको एक हिस्सा बनेर उभिन सफल भएको छ । कुलुङ समुदाय राज्यबाट त वेवास्ता गरिएको समुदाय थियो नै, अर्कोतर्फ आफूजस्तै अर्को समुदाय विशेष या व्यक्ति विशेषबाट पनि व्यवहारिक अपहेलना वेहोर्न या वेवास्ता सहन विवश थियो ।
 
यी कहानी एक दशकभित्रका इतिहास बनिसकेका छन् । अहिले कुलुङ समुदायको सम्मानजनक उपस्थिति या स्थिति बनिनसकेको भए पनि परिवर्तनको एक फड्को मारिसकेको अवस्था भने पक्कै हो । यस गुणात्मक परिवर्तनका वाहक कुलुङ समुदाय, कुलुङ युवाहरु र संस्थागत रुपमा कुलुङ संघलाई भन्दा अत्युक्ति नहोला ।  वि।सं। २०५३ मा विधिवत रुपमा स्थापना भई दुई दशकभित्र कुलुङ समुदाय भएका नेपालका सम्पूर्ण जिल्ला तथा विदेशमा पनि आफ्नो संगठन विस्तार गर्दै कुलुङ समुदायलाई भावनात्मक तथा संगठनात्मक रुपमा एक गर्दै लगेको नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघले आफ्नो स्थापना कालदेखि नै कुलुङ भाषा संस्कृतिको उत्थान विकास गर्ने र कुलुङ समुदायलाई एक ढिक्कामा गोलबद्ध पार्ने प्रयास गर्दै आएको छ ।
 
यो संघ विशेषत २०५८र५९ तिरबाट आफ्नो मुख्य मुद्धाको रुपमा आदिवासी जनजाति उत्थान प्रतिष्ठानले २०५८ मा प्रस्तुत गरेको आदिवासी जनजातिको सूची अपुरो, अवैज्ञानिक भएको र सो सूचीमा कयौं स्व–पहिचान भएका समुदाय छुट्न गएकोले सो सूची परिमार्जन गरी आफू लगायत सबै आदिवासी जनजातिलाई समेट्नु पर्ने माग राखेर विभिन्न आन्दोलनका साथ अगाडी बढेको छ । कुलुङ समुदायले गर्दै आएको आन्दोलनका उपलब्धीहरुको लेखाजोखा गर्ने हो भने मूल उपलब्धीको रुपमा कुलुङ समुदायमा आएको सामाजिक तथा राजनीतिक जागरणलाई लिन सकिन्छ । कुलुङ समुदायको बाक्लो वस्ती भएका क्षेत्रहरु भौगोलिक रुपमा पनि विकट र विकासका पूर्वाधारले छुन नसकेका वस्तीहरु भएकाले तुलनात्मक रुपमा अन्य समुदायभन्दा पछाडि रहेको अवस्था रहेको थियो ।
 
महाकुलुङ क्षेत्र भनी चिनिने सोलुखुम्बु जिल्लाको दूधकोशी पूर्वका पाँच गाविस पर्ने पहाडी क्षेत्र, भोजपुरको उत्तरी भेग, संखुवासभाको अरुण उत्तर पश्चिममा रहेको क्षेत्रमा कुलुङ समुदायको वृहत वस्ती रहेको छ । यो कुलुङ समुदायको वसोवास भएको क्षेत्रहरु भौगोलिक रुपमा एकै भए पनि राजनीतिक सीमा विभाजनका क्रममा तीन जिल्लामा पारिएपछि तीनै जिल्लाका विकट क्षेत्रमा कुलुङ वस्ती रहन थाले र विकासका पूर्वाधार विकासको दृष्टिले पछाडी रहन पुग्यो । चेतनाको अभावमा कुलुङ समुदाय राज्य संचालनको विभिन्न संयन्त्रमा प्रवेश त के सार्वजनिक सेवा उपभोगमा समेत सक्षम हुन सकेनन् । दिएमा मात्र खाने स्थितिदेखि माथि उठ्न नसकिराखेको स्थितिमा वि।सं। २०६३ को राजनीतिक परिवर्तनसँगै दुरदराजको वस्तीमा विस्तारै चेतना र विकासको लहर फैलिदैँ गयो ।
 
यसमा कुलुङ संघले उठाएको पहिचानको आन्दोलन र त्यसमा कुलुङ समुदायले दिएको एकोहोरो समर्थनले रामै्र भूमिका निर्वाह गर्यो । औपचारिक शिक्षा लिएका केही युवाहरु सरकारी तथा गैर सरकारी सेवामा प्रवेश गर्न सफल पनि भए । शिक्षा, विद्युत लगायतका विकासका पूर्वाधारमा केही प्रगति भए । कुलुङ संघले नेतृत्व गरेको कुलुङ संघ तथा यसका भातृसंगठनहरुको भूमिकाले समाजमा परिवर्तन र चेतनाको लहर ल्याइदियो । हिजो आफ्नै गाउँमा पनि राजनीतिक प्रणाली र सार्वजनिक सेवा प्रणाली बुझ्न कठिन भइरहेकाहरु आज जिल्ला स्तरसम्म केही बुझ्ने बनेर निस्केका छन् । त्यस्तै अर्को महत्वपूर्ण उपलब्धी भनेको कुलुङ जाति र भाषाको पहिचान तथा सूचीकरण उन्मुख जाति सम्मको यात्रा हो । विभिन्न चरणका आन्दोलन, वार्ता, प्रयासका उपलब्धि स्वरुप कुलुङ लगायत २५ जातिलाई आदिवासी जनजातिको सूचीमा थप्न सिफारिस भएको छ । यद्धपि सूचीकृत नभइसकेको अवस्था भने हो ।
 
आफ्नो पहिचानको लागि जाति र भाषा पनि कुलुङ लेख्ने कुलुङ संघको आव्हान र समुदायमा आएको नश्ल चेतनाको फलस्वरुप नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ मा कुलुङ जाति भनी लेख्ने संख्या २८,६१३ भेटियो भने कुलुङ भाषा भनी उल्लेख गर्नेको संख्या ३३,१७० पाइयो । कुलुङ संघमा उपलब्ध तथ्यांक अनुसार कुलुङ जातिको जनसंख्या नेपालभित्र मात्र १ लाख ५० को हाराहारीमा रहेको छ, त्यस्तै विभिन्न देशमा गरी नेपाल बाहिर ५० हजारको हाराहारीमा कुलुङ जाति रहेका छन् । केही मात्रामा भएपनि कुलुङ जातिबारे राष्ट्रिय रुपमै केही पहिचान स्थापित हुन सफल भएको छ । कुलुङ जाति र कुलुङ संस्कृतिबारे विभिन्न पुस्तकमा समेटिन थालिएको छ । पहिचानको आधारमा हेर्दा यो पनि एक उपलब्धी नै हो । कुलुङ समुदायको नयाँ उपलब्धिको रुपमा सांस्कृतिक पहिचान हो । सम्पूर्ण किरातिको गौरव र पहिचानको रुपमा रहेको येले सम्वत अनुसारको नयाँ वर्ष चाक्चाकुर महिनामा मान्ने एक मात्र समुदाय कुलुङ हो ।
 
सम्पूर्ण किरातिले येले सम्वतलाई आफ्नो सम्वतको रुपमा माने पनि औपचारिक रुपमा मान्न नसकेको वेला यो समुदायले यलम्बरको सच्चा सन्तानको रुपमा आफूलाई प्रस्तुत गरेको छ । यसको अगुवाई नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघले धरानको ऐतिहासिक पूखाए सम्मेलन मार्फत गरेको हो । करिव लोप हुने अवस्थामा पुगेको फेंगाको प्रचलनलाई समयानुसार परिमार्जन गर्दै विभिन्न सिली, अवसर, पर्वमा प्रदर्शन गर्न सुरु गरेको छ । यसबाट कुलुङ समुदायको पहिचानको रुपमा स्थापित भांग्रा ९अल्लो० को देश विदेशमा प्रचार गर्न सफल छ । कुनै बेला भांग्रे
भन्दा हेयको नजरबाट उच्चारण गरिन्थ्यो अहिले गौरवपूर्ण भांग्रा । कुलुङ संस्कृतिसँगै भाषा, साहित्यको लिखित दस्तावेजीकरण सुरु भएको छ ।
 
कुलुङ भाषामा गीत संगितको सृजना सुरु भएर विकास हुँदै गएको छ । ‘लाइस्पी तुम्खाम हुक्छो’, ‘आयबुङ’, ‘मिन्ताम’, ‘सानीवा’ लगायतका कुलुङ भाषाका गीति एल्वम, ‘तेल्पोस’ जस्तो ऐतिहासिक चलचित्र, तथा ‘कुलुङ शब्दकोष’, वंशावली, कुलुङ सांस्कृतिक अध्ययन, ‘सानीवा दोलम्’, चाचो, नीङ छेइलम्, साल्पा पोखरी परिचय, कुलुङ भाषामा विभिन्न कक्षाका पाठ्य पुस्तक लगायतका दर्जनौ कुलुङ समुदाय सम्बन्धित कुलुङ भाषाका तथा नेपाली भाषा माध्ययमा लिखित दस्तावेज प्रकाशित छन् । त्यस्तै सुनसरीको सप्तकोशी एफ एम, सोलुखुम्बुको सोलु एफएम, संखुवासभाको गुराँस एफएम लगायतका रेडियोबाट कुलुङ भाषाबाट साथै काठमाण्डौको टाइम्स एफएमबाट आदिवासी पहिचानसँग सम्बन्धित कार्यक्रम प्रशारित भएका तथा भई रहेका छन् ।
 
यी प्रकाशित कृतिहरु तथा सामग्रीहरु कुलुङ संघले संस्थागत रुपमा निर्माण, प्रकाशन, प्रशारण गरेका केही तथा केही कुलुङ संघ समुदाय सम्बन्धित कलाकार, लेखक, निर्माताबाट निर्मित हुन् । यस महान् कार्यमा कुलुङ समुदाय कतै न कतै सहयोगी बनेको छ र कुलुङ संघ शुभेच्छुक । अर्को उपलब्धीको रुपमा कुलुङ समुदाय आफ्नो पहिचान सँगै उत्पादन विक्री गरेर आर्थिक रुपमा सवल वन्न प्रेरित भएका छन् । यसमा कृषि उत्पादन मात्र नभई मानवस्रोत उत्पादन पनि विक्री भएको देख्न सकिन्छ । कुलुङ समुदाय अलैँची र रुद्राक्ष मात्र होइन कि आफ्नो जातीय पहिचानको प्रतिक अल्लो उत्पादनमा समेत अग्रसर छन् । यसमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा कुलुङ संघ र समुदायको भूमिका भएकै मान्नु पर्दछ । यी र यस्तै विभिन्न उपलब्धिहरु आत्मसात गर्दै अगाडी बढेको कुलुङ संघ र समुदायलाई अरु किराति, आदिवासी तथा देश विदेशका अन्य समुदाय तथा व्यक्ति व्यक्तित्वले यस समुदायलाई पहिचानको आन्दोलनमा अग्रस्थानमा रहेको समुदायको रुपमा हेर्न थालेका छन् ।
 
कुलुङ समुदायले राज्यको विभिन्न तहमा केही न केही मात्रामा आफ्नो उपस्थिति जनाउन सक्षम रहेका छन् । शिक्षा, चेतना र विकासको दृष्टिले समुदाय केही प्रगतिको अवस्थामा देखिन्छ । यसमा कुलुङ संघको पनि केही हिस्सा छ नै । हामीले करिव दुई दशकको यात्रामा थुप्रै उपलब्धी आत्मसात गर्न सकेका छौँ । उपलब्धीहरु उल्लेखनीय छन् । तथापी गर्न बाँकी पनि थुप्रै कार्यभार छन् । इतिहासको निर्माणका क्रममा थुप्रै छुटपुट भएका छन् । जसलाई पुरा गर्नु अवको पुस्ताका लागि अनिवार्यता नै छ र चुनौतिपूर्ण पनि । हामीले अगाडी बढ्दै गर्दा यात्रामा छुटेका, हामीले पुरा गर्न चुकेका कार्यभार के के हुन् र यसका लागि को कसरी अगाडी बढ्ने निक्र्यौल गरी काम सुरु नगरिएको खण्डमा हाम्रो यात्राको अगाडि सफल्ता र उपलब्धी मात्र छ भन्न सकिन्न ।
 
सानो तिनो घट्नादेखि दुर्घट्नासम्म समुदायले बेहोर्नुपर्ने हुनसक्छ । पहिचानको आन्दोलनले सफल अवतरण गर्न अवका बाँकी कार्यभार पुरा हुनै पर्दछ । कुलुङ संघले उठाएको मूख्य मुद्धा जातीय सूचीकरणको हो । यो सिफारिस भएर क्याविनेट निर्णयको पर्खाइमा चुपचाप बसिराखेको अवस्था हो । राजनीतिक पहूँच र दवावको अभावमा कुलुङ लगायतका २५ जाति सूची उन्मुख जातिमा अड्केका छन् । यस अवस्थामा राज्यको स्रोत साधनको उपयोग गर्नबाट त वञ्चित छौं छौं,छुट्टिन खोज्नेको भिल्ला भिडाएर सहजै प्राप्त हुनुपर्ने सुविधा पाउनमा समेत असहजता उत्पन्न भइरहेको छ । सूचीकरणको मुद्धालाई अगाडि बढाउनु पर्ने आवश्यकता टड्कारो रुपमा उठेको छ । कुलुङ जातिका कतिपय मान्छेहरु नागरिकताको नाम थरमा समेत कुलुङ हटाएर राई बनाउन प्रशासन धाइरहेको प्रत्यक्ष भेटिएको छ । कुलुङ जातिको सूचीकरण नहुनु र जनचेतनाको अभावमा यस्ता काम भइरहेका छन् । पहिचानको अस्पष्टता पनि यस घटनाको कारण हो ।
 
धेरै चुनौतिहरुका माझ सबभन्दा ठूलो र समाधान गर्न धेरै गाह्रो भईसकेको चुनौति भनेको समुदाय बिचकै फूट हो । महाकुलुङ क्षेत्रमा विकसित भई एक समय सोताङ कुलुङ भनेर पहिचान पाएका एउटै साझा भाषा, संस्कृति, भूगोल, भावना, इतिहास भएका समुदाय आज दुई फरक समुदायमा विभाजित छन् । महाकुलुङ क्षेत्रमा विकसित हाल कुलुङ र नाछिरिङ जातिमा विभाजित समुदायलाई कुन कुन आधारमा के कसरी छुट्टै जाति मान्ने भन्ने कुरामा एक मत हुन जरुरी छ । एउटै वंशबाट विकसित, एउटै भाषा बोल्ने, एउटै भूगोलमा विकसित समुदाय कसरी विभाजित हुन सम्भव भयो, यसको स्पष्ट धारणा बनाइनु पर्छ । एउटै हो भने कसरी र होइन भने कसरीरु एउटै व्यक्तिरवंशबाट विकसित दाजुभाईका सन्तान पिल्मो र नाम्लुङहरु कसरी विभाजित हुन हुन पुगेरु पिल्मोभित्र नै पनि दाई र भाईको जाति  नमिलीराख्दा हामी किन स्पष्ट पार्न सकिरहेका छैनौ कि हामी एकै हौ भनेररु के कुलुङ समुदाय भावनात्मक रुपमा विभाजित भइरहेको टुलुटुलु हेरेर बस्ने अनि एकोहोरो सूचीकरणको सुगा रटान दिइरहने अझैरु यस्ता पहिचान सम्बन्धी असंख्य प्रश्नहरुको जवाफ माग्दै एकै थलोमा उभिएर अगाडी बढ्न आतुर समुदायलाई स्पष्ट जवाफ दिनु आजको पहिलो आवश्यकता हो ।

सानो तिनो घट्नादेखि दुर्घट्नासम्म समुदायले बेहोर्नुपर्ने हुनसक्छ । पहिचानको आन्दोलनले सफल अवतरण गर्न अवका बाँकी कार्यभार पुरा हुनै पर्दछ । कुलुङ संघले उठाएको मूख्य मुद्धा जातीय सूचीकरणको हो । यो सिफारिस भएर क्याविनेट निर्णयको पर्खाइमा चुपचाप बसिराखेको अवस्था हो । राजनीतिक पहूँच र दवावको अभावमा कुलुङ लगायतका २५ जाति सूची उन्मुख जातिमा अड्केका छन् ।

जातीय पहिचान बारे जानकार केही व्यक्तिले पनि आफूलाई बाहेक अरुलाई सम्झाउन सकिराखेका छैनन् । यस्तो स्थितिमा अवको नेतृत्वको लागि आफ्नै समुदायभित्रको अन्यौलको समाधान चुनौतीपूर्ण तथा गर्नुपर्ने अनिवार्य कामको रुपमा प्रस्तुत भएको छ । देश संघियता र समावेशीतामा परिणत भएको परिवर्तित राजनीतिक रिस्थितिमा पनि कुलुङ समुदाय राज्यको निर्णायक तहसम्म पुग्न सकेकै छैन, समावेशीताको फाइदा उठाउन नसकिराखेको समुदायलाई कसरी राज्यको नीति निर्माणको तहसम्म पुर्याउने भन्ने विषय अवको गम्भिर मुद्धाको रुपमा उठाउन आवश्यक छ ।
 
राजनीतिक पहूँचको अभावमा सूचीकरणको सवाल छायाँमा परेको छ भने समुदायले देशको राजनीतिक व्यवस्था प्रति अपनत्वको भावना विकास गर्न र समुदायको समग्र विकासको लागि पनि राजनीतिक तथा प्रशासनिक रुपमा निर्णायक तहमा पुग्न जरुरी छ । यसको लागि कुलुङ समुदायले के गर्ने र कसरी गर्ने भन्ने गृहकार्य थालिन आवश्वक देखिन्छ । कुलुङ भाषा संस्कृतिको विकास हुँदै गएको भएपनि आवश्यक मात्रामा जति हुनुपर्ने त्यति नभएको देखिन्छ । विशेष गरी कुलुङ जातिको इतिहासको पुनर्लेखन अव जरुरी भइसकेको छ । मौखिक इतिहासमा एक रुपता हुँदै हँुदैन, त्यसैले हामी र हाम्रा सन्ततिले व्यक्ति पिच्छेका इतिहास बुझेका छन् । त्यसैले हाम्रो इतिहासको सही व्यख्या सहितको पुनर्लेखन हुन जरुरी छ । त्यस्तै भाषाका साहित्य, संगितको पनि यथेष्ट लेखन हुनुपर्दछ ।
 
स्कृतिक रुपमा हामी धनी छौं र पनि हामीले यसको पूर्ण रुपमा प्रवद्र्धन गर्न सकिरहेका छैनौ । अव विस्तारै हराउने अवस्थामा गएको इतिहासको उत्खनन र लेखन अनि भाषा संस्कृतिको विकासमा ध्यान दिनु अवको कुलुङ संघको नेतृत्व र कुलुङ समुदायको काँधमा आएको छ । कुलुङ संघ र समुदायबाट टाडिदै गरेका समुदायका व्यक्ति र भूपू पदाधिकारीहरुको असन्तुष्टिपूर्ण बहिर्गमण पनि हाम्रो लागि चुनौतिपूर्ण तथा प्रगतिमा वाधक बनेको देखिन्छ । कुलुङ संघका केन्द्रिय पदाधिकारी समेत रहेकाहरु कुलुङ संघप्रतिको धारणा तटस्थ बनाउदै कोही बाहिएका छन् भने कोही जिल्ला स्तरमै नेतृत्व समेत सम्हालेका हरु पनि जातीय पहिचानबारे बुझ पचाउँदै आफ्नो बाटो लाग्ने सम्मको घट्ना देख्न, सुन्नमा आएका छन् । भूपू पदाधिकारीहरु किन यतिसम्म अन्यौलमा छन् र संघमा फर्केर किन आउन चाहँदैनन् यसको कारण खोतल्न आवश्यक भै सकेको छ ।
 
कतिपय वौद्धिक भनिने जमात पनि आज चुपचाप छन् भने कतै अरु संस्थाका पदाधिकारी बनेर कुलुङ संघ र समुदायलाई लात मार्न उद्दत छन् । यसको सही समाधान खोजिनु पर्दछ । आफ्नो भित्र आँफै शत्रु भने जस्तै कुलुङ संघको अतिरिक्त कुलुङ समुदायमा अर्को संस्था पनि छ जुन कुलुङ संघको मुख्य मुद्धाको विरोध गर्दछ । नागरिकतामा समेत उल्लेख भइसकेको कुलुङ लाई राई बनाउन लागि पर्दछ । अव यो पनि निश्चित क्षेत्रभित्र चुनौतिको रुपमा उभिएको छ । सो संस्थामा कोही आफ्नो व्यक्तिगत स्वार्थ पूर्तिको लागि लागिपरेका छन् भने कोही व्यक्तिगत ईखका आधारमा पनि लागेका हुन सक्छन्, कतिलाई पंगु बनाइएको हुन सक्छन् । यस्तो क्रियाकलापले कुलुङ जातिको इतिहासलाई बंग्याएर कुलुङ समुदायमा फूट ल्याउने सम्भावना बढेको छ । यसको समाधाना वार्ता, कुराकानी गरेर निकाल्न आवश्यक छ । हामी कुलुङ कुलुङ भनी हिँड्दा मात्रै कुलुङ समुदायमा बढी नै केन्द्रित हुनसक्छौँ । कुनै समय अरु समुदायले कुलुङ जातिलाई हेयको दृष्टिले पनि हेरेका हुन सक्छन् । तर यो समयमा समयसँगै सन्दर्भ परिवर्तन भएको छ । कुलुङ समुदायप्रति अरु समुदायको हेर्ने नजर सकरात्मक हुँदै गएको छ ।
 
आदिवासी आन्दोलनका हस्तिहरुले कुलुङ समुदायलाई नकारेर हिड्न नसकिने तथ्य बुझेका छन् । त्यसैले कुनै समय निषेधको वातावरण भएकाहरु सँग पनि अव हातेमालो र हकार्यको वातावरण तयार पारिनुपर्दछ । हाम्रो सूचीकरण र पहिचान स्थापनाको सर्तलाई नकरात्मक असर नपर्ने गरी अरु जातीय संस्था र समुदायसँग सुमधुर सम्बन्धहरु विकास गरिनु पर्दछ । उनीहरुलाई पनि हाम्रो माग तथा धारणा प्रति सकरात्मक बनाउने प्रयत्नहरु गरिनु पर्दछ । हामी अहिले जुन परिस्थितिमा कुनै जाति विशेषको समुदाय र संस्थासँग टाडिएर बसेका छौं, त्यसैगरी रहन सकिने स्थिति रहन्न कालान्तरसम्म । हामी सूचीकरण हुँदैमा प्रदेश या देश नै फरक नहुने हुनाले पनि हामी जस्तै मुद्धा बोकेका तथा नबोकेका अरु आदिवासी समुदाय तथा गैर आदिवासी समुदायसँगको सम्बन्ध सुमधुर बनाउँदै लानु पर्दछ ।
 
हामी पनि सक्षम छौँ र केही हौं भन्ने तथ्य सबैलाई बुझाउन आवश्यक छ । प्राप्त भएका उपलब्धिहरुलाई पनि आत्मसात गर्दै यस संघ र समुदायलाई नयाँ उपलब्धिको उचाईमा पुर्याउन अवको हाम्रो कर्तव्य हो । यो चुनौतिपूर्ण पनि छ । नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ ऐतिहासिक चौथो सम्मेलनको संघारमा छ । अवको नेतृत्वले तमाम कुलुङ समुदायलाई प्रगतिको मार्ग दर्शन गराउने छ । कुलुङ समुदायले अरु समुदायसँगको सम्बन्ध सुमधुर बनाउँदै आफ्नो समुदायको प्रगतिका लागि अगाडि बढ्ने यो समय हो । यसको लागि संयम अति महत्वपूर्ण हतियार हुनुपर्दछ । कुलुङ संघको स्थापना पश्चात कुलुङ समुदायमा आएको चेतनाको लहर उल्लेख गर्न योग्य प्राप्ती हो । यसका साथै कयौँ उपलब्धीहरु प्राप्त भएका छन् । प्राप्त उपलब्धी माथि अझ प्रगतिहरु गर्न बाँकी छ, परिवर्तन आत्मसात गर्नु छ र समुदायलाई राज्यको मूलधारसम्मको यात्रामा डोहोर्याउने चुनौति हामीसामु छ ।

 

लेखक कुलुङ विद्यार्थी संघ केन्द्रीय समितिका पुर्व महासचिव हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस
First slide

अजय अलंकारको म्युजिक भिडियो बजारमा

काठ्माण्डौ । गायक तथा सङ्गीतकार अजय अलङकार कुलुङले कुलुङ भाषाको गीतको भिडियो बजारमा ल्याएका छन् । काठ्माण्डौ स्थीत कुलु गुस्खमको कार्यालयमा एक

First slide

सम्पादकीय: छेलाम अब नयाँ वेबसाईटका साथ 

एउटा ईतिहास बोकेको कुलुङ भाषाको रेडियो कार्यक्रम ‘रोक्तोखोम’ सप्तकोशी एफ एम ईटहरीबाट एक दशक भन्दा बढी लामो समय सञ्चालन भएर अन्तत बन्द भएको थियो ।

First slide

नेपालमा को हुन् आदिवासी र जनजाति ?

नेपालमा आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठान ऐन ०५८ आएपछि त्यसले नेपालमा पहिलोचोटी आदिवासी जनजातिको पहिचान र मान्यता प्रदान गरेको हो । जसअनुसार