मैले पढेका किताब: किरात बालबालिका नामकोश

मानवशास्त्रको सही सदुपयोग कि, राईवादको उत्कृष्ठ नमुना ?

–निनाम लोवात्ती कुलुङ

चन्द्रकुमार राई ‘हतुवाली’द्धारा लिखित ‘किरात बालबालिका नामकोश (२८ राई, लिम्बु, कोँइच (सुनुवार) र याक्खा भाषामा)’ नामक किताब केहीअघि बजारमा आएको थियो । तर, लेखक राई ‘हतुवाली’ले संस्कृति र मानवशास्त्रमा एमए र बिएल (त्रिविविबाट) पढेको (पाना–३५८ लेखकको परिचय) भएर पनि अरुको अधिकार हनन् गर्नु हुँदैन भन्ने बिर्सेको देखिन्छ । त्यस्तै अरुको अस्तित्व र कुनै पनि जाति वा समुदायले हामी को हौं ? भन्ने आत्मनिर्णयको अधिकारलाई पनि स्वीकार गरेको देखिदैन । यो लेखकको ठूलो कमजोरी, अह्म वा भनौं मपाईँत्व नै हो । तर, के सुनिदैछ भने, त्यही किताब पनि अरु किताबसँगै कथित् राई जातिको नाममा खुलेको एक गैर सरकारी संस्था (गैसस) मा पुरस्कारका लागि चर्चामा छ ।

लेखकले ‘किरात बालबालिका नामकोश (२८ राई, लिम्बु, कोँइच (सुनुवार) र याक्खा भाषामा)’ नामक किताब लेख्नेक्रममा कसरी अरुको अधिकार हनन् गर्नुभो ? अरुको आत्मनिर्णको अधिकारलाई कसरी स्वीकार गर्नु भएन ? केही उदाहरणसहित तल दिइएको छ । जस्तो पाना–३ को ‘चार किरातका भाषा र जनसंख्या’को तालिका २०६८ को राष्ट्रिय जनगणनामा आधारित भए तापनि मातृभाषाको तथ्यांकलाई जनसंख्याको तथ्यांक हो भन्ने ढंगले राखिएको छ । जबकि लेखकले प्रस्तुत गरेको उक्त तथ्यांक जनसंख्याको नभएर मातृभाषीको हो । तर, यसबारेमा थाहा नभएका पाठकहरुले त्यही मातृभाषीको तथ्यांकलाई नै जातीय जनसंख्या पनि हो भनी बुभ्mने छन् । जबकि २०६८ को राष्ट्रिय जनगणनामा कुलुङको जनसंख्या २८ हजार छ सय १३ जना, नाछिरिङको सातहजार एकसय ५४ जना, याम्फुको छ हजार नौ सय ३३ जना, चाम्लिङको छ हजार छ सय ६८ जना, आठपहरियाको पाँचहजार नौ सय ७७ जना, बान्तावाको चारहजार छ सय चार जना, थुलुङको तीनहजार पाँचसय ३५ जना, मेवाहाङको तीनहजार एकसय जना, बायुङ/बाहिङको तीनहजार ९६ जना, साम्पाङको १६ सय ८० जना, खालिङको १५ सय ७१ जना र लोहोरुङको ११ सय ५३ जना आएको छ ।

तर, स्वार्थवस लेखकले माथि उल्लेखित जातिहरुको जनसंख्या भने प्रस्तुत गरेका छैनन् । बरु २०६८ को राष्ट्रिय जनगणनाको तथ्यांकमा नआएको भाषाहरु छिन्ताङ, नेवाहाङ, मुगाली र कथित् देवास राई ! पनि देखाइएको छ । हुन पनि २०५८ मा तीनलाख ७१ हजार जानचुन भएको राई भाषा २०६८ मा किन एक लाख ५८ हजार चानचुनमा झर्यो ? यसबारेमा लेखकले आँखा चिम्लेका छन् । त्यस्तै २०६८ को जनगणनामा आएको एक लाख ५८ हजार चानचुन ‘राई भाषा’ कुन जातिले बोल्ने भाषा हो ? सो पनि उल्लेख छैन ।

त्यस्तै यो पंक्तिकारले देवासलाई किन कथित् देवास राई ! भनेको हो भने, ज्योती दनुवार र राजन डोनेका अनुसार ‘देवास’ भनेको दनुवार/डोने जातिका धामी, झाँक्री, गुरुहरुले खेलाउने ‘गुरु’को नाम हो । यही ‘देवास’ खेलाएर दनुवार/डोने जातिका धामी, झाँक्रीहरु नाच्ने गर्छन् । त्यसो त पछिल्लो समयमा देवास राईका अध्यक्षले राई यायोक्खाका अगुवा राई सर÷राईनी म्याडमहरुलाई ‘खासमा तपाईहरु राई होइन रहेछ, त्यसैले अब देवासलाई राई जातिमा स्थापित गर्न सहयोग गर्नु पर्यो भन्छन् अरे ।’ भनी राजन डोनेले केही समयअघि बताएका थिए ।

‘किरात बालबालिका नामकोश (२८ राई, लिम्बु, कोँइच (सुनुवार) र याक्खा भाषामा)’ भित्र रहेको नामहरुको तुलना हेर्दा अरु जातिको बारेमा केही भन्न नसकिए तापनि कुुलुङ जातिका सम्बन्धमा भन्नु पर्दा मुल थलो छाडेर अन्यत्र गएका, मातृभाषा बिर्सिएका कुलुङका लागि यो किताब ‘कानो गोरुलाई औंसी न पूर्णे’ भनेझैं हो ! तर, कुलुङ भाषा जीवित रहेको मुल थलोका कुलुङ लगायत मातृभाषामा पकड भएका कुलुङले हेर्दा यो किताबमा धेरै नै खोट देख्ने/भेट्ने छन् । लेखक राईले जुन नामहरु कुलुङ पूर्खाको नाम भनी दिएका छन्, ती नामहरु २०६२ र २०६८ मा ‘नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ’ले देशभरिका कुलुङ पूर्खाहरुलाई भेला गरेर गरेको छलफलले निकालेको निचोड अनुसार १० वटा मात्रै मिल्छ । यसरी दुईदुई पटक पूर्खा सम्मेलन गरेर निकालेको निचोडअनुसार कुलुङहरु कुलुङ भनी चिनिनुअघिको २३ पुस्ता थिए । त्यसमध्ये लेखक राईको किताबमा ‘कुलुङ पूर्खा भनी दिइएको नाममा खम्बुहो १७ औं, खार ९ औं, छाक्की (छाक हुनुपर्ने) १८ औं, छुनी १२ औं, तुनिलु १४ औं, निनामरिदुम (निनामरिदुम–पारुहाङ हुनुपर्ने) पाँचौं, मुथिथि, १५ औं (मुतिथि भएको छ), रनु ११ औं, होलेन्दा (होलेन्दु भएको छ) सातौं, होहोरेम चौथो गरी १० जना पूर्खाको नामहरु परेको छ । हुन त लेखक राईले समग्र कुलुङ समुदायका पिलोको रुपमा रहेका भुपध्वज थोमरोसको किताब ‘रिङबोउ’लाई स्रोतको रुपमा लिएको देखिन्छ ।

कतिपय शब्द गलत पनि देखिन्छ । खस/नेपाली भाषामा सगरमथा र अंग्रेजीमा एभरेस्ट भनेर चिनिने चोमोलुङमालाई कुलुङ भाषामा ‘सोम्फोरोछा’ भनिन्छ भनी लेखिएको छ । पाना–३१६ । तर, कुलुङ समुदायले सगरमथालाई ‘सोम्फोरोछा’ नभनेर चोमोलुङमा भन्छन् । त्यस्तै ‘ङेर्/ङेर’ भन्नाले रण भन्दा पनि लडाईँ/लडाईँको स्थिति हो । ‘ओन्तोदेप’ भन्नाले यति ठूलो भन्दा पनि धेरै ठूलो जनाउँछ । पाना–५६ । नेपाली भाषालाई नै कुलुङ भाषा बनाउन खोजेको पनि देखिन्छ । जस्तो कुलुङ भाषामा ‘चहक’ भन्नाले नेपालीमा ‘जय’ भनिएको छ । पाना–९९ । ‘कुन्द’ भन्नाले देउतालाई चढाउने दूध भनिएको छ । पाना–६४ । लेखक राईले यहाँ शब्दको व्याख्या गर्नेक्रममा (कुलुङ राईले देवतालाई चढाउने दूध भनेका छन् । यसरी लेखक आफै पण्डित बनेर धेरै ठाउँमा कुलुङ समुदायको टाउकामा ‘राई’ झुन्ड्याई दिएका छन् ।

यसरी हेर्दा संस्कृति र मानवशास्त्रमा एमए र, कानुनमा बिएल पढेको राई सरले किन अरुको अधिकारको ख्याल गरेनन् ? जनगणनाको सही तथ्यांक किन दिएनन् ? आपैm कानून पढेर पनि यी राई सरले किन अरुको कानूनी हकअधिकार, खासगरी हामी को हौं भन्ने सम्बन्धित समुदायको हकअधिाकारको हनन् गर्न खोजे ? उनले किन शब्दको व्याख्या गर्नेक्रममा फलानो राई, चिलानो राई भनी आफै पण्डित बनेर अरुको टाउकोमा जबरजस्ती राई भुन्ड्याई दिए ?प्रश्न अनुत्तरित छ । कि मानवशास्त्रले कुनै पनि जातजातिले विगतमा हाम्रै रहरले वा वाध्यताले नामको पछाडि ‘राई’ लेखिआएको/लेखेको भए तापनि (नेपालको सन्दर्भमा) खास जातीय चिनारी वा परिचय भनेको कुलुङ हो । थुलुङ हो । बाहिङ हो । बान्तावा हो । लोहोरुङ हो । याम्फु हो । आठपहरिया हो । त्यसैले विगतमा जे भए तापनि अबदेखि यही जातीय चिनारीले चिनिनि चाहान्छौं भन्दाभन्दै पनि, सोही अनुसार राष्ट्रिय जनगणनामा लेखाउँदा लेखाउँदै र उल्लेख गर्दा गर्दै पनि मानवशास्त्री, संस्कृतिविद र कानूनविद भन्ने र भनिनेहरुले होइन, तेरो नागरिकतामा मात्रै होइन तीनपुस्तमा पनि राई छ, पहिलेदेखि राई भन्दै आएका छौ, त्यसैले तिमीहरु अकाट्य रुपमा धरतीको अस्तित्व रहेसम्म राई नै हुनुपर्छ ! भन्ने हो ? यही हो त मानवशास्त्र, संस्कृति र कानूनको अध्ययनको आशय र निचोड ? यसरी हेर्दा र फेरि पनि भन्नु पर्दा संस्कृति र मानवशास्त्रमा एमए अनि कानुनमा बिएल पढेको राई सरलाई (अरु राई सर/राईनी म्याडमहरुलाई पनि) अरुको टाउकामा जबरजस्ती २८ भाषी ‘राई’ भनी ‘राई’ झुन्डाइदिनु नै छ भने कोही २८ भाषी राई, राई सरको कुरोलाई नै सही मानौं । तर, यस्ता २८ भाषी राई राई एक जाति राई को छ ? जसले २८ भाषामा खररररर .... बोल्न सक्छ ? २८ वटा राई भाषामा बोल्न सक्ने मान्छे ल्याउनका लागि मानवशास्त्री, संस्कृतिविद र कानूनविद राई सरलाई यो पंक्तिकार चुनौति दिन चाहन्छ ।

तर, मानवशास्त्रको विषयमा प्रश्न गर्दा त्रिभुवन विश्वविद्यालयबाट मानवशास्त्रमा एमए गरेका सोलुखुम्बु जिल्ला बुङ गाविस छेक्मा गाउँ (हाल महाकुलुङ गाउँपालिका) का अर्जुन मान्थेर्बु (चोलोछा) कुलुङ भन्छन् –“मानवशास्त्रले ‘रेस’ अर्थात् नश्ल हेर्छ, ‘कास्ट’ अर्थात जात होइन । किनभने जात व्यवस्थामा म ठूलो तँ सानो भन्ने हुन्छ । साथै, मानवशास्त्रले क्वालिटी अर्थात गुण हेर्छ, क्वान्टिटी अर्थात् संख्या होइन । जस्तो नेपालमा कुसुन्डा होस, कि राउटे । मगर होस् कि कुलुङ । मानवशास्त्रीय हिसावले उनीहरु समान हुन् । किनभने मानवशास्त्रले संख्या हेर्दैन । तर, नेपालमा मानवशास्त्र पढ्नेहरुले कि त मानवशास्त्र बुझेका छैनन् । कि त बुझेर पनि स्वार्थवस बुझ पचाएका छन् । कि भने नेपालका मानवशास्त्री भनिनेहरु पनि मानवशास्त्रको सही व्याख्या गर्न भन्दा पनि शासकहरुले अघिदेखि गरिआएको संख्याको राजनीति नै खोज्छन् । जस्तो ‘किरात बालबालिका नामकोश (२८ राई, लिम्बु, कोँइच (सुनुवार) र याक्खा भाषामा)’ को किताबको प्रसंगमा मान्थेर्बु भन्छन्, ‘–ठीक छ, राई भन्नेहरु पनि छन् । तर, एकजना नै किन नहोस्, २०६८ को जनगणनामा आएको जातजाति र भाषाभाषीलाई पनि लेखक राईले नमान्नु वा कुलुङ, थुलुङ, चाम्लिङ, बान्तावा, लोहोरुङ, याम्फु, आठपहरिया नभनेर उनीहरुको टाउकामा जबरजस्ती ‘राई’ नै झुन्ड्याईदिनु भनेको कसरी मानवशास्त्र पढेको भनेर मान्नु ? कि उनी राज्यभन्दा पनि माथि हुन् ? राणाकालमा राणाशासकहरुले ऐनमा जे लेखेको भए तापनि हाम्रो तजबिजले हुकुम बक्स्यौं ! भने जस्तै हो ?’

प्रतिकृया दिनुहोस
First slide

अजय अलंकारको म्युजिक भिडियो बजारमा

काठ्माण्डौ । गायक तथा सङ्गीतकार अजय अलङकार कुलुङले कुलुङ भाषाको गीतको भिडियो बजारमा ल्याएका छन् । काठ्माण्डौ स्थीत कुलु गुस्खमको कार्यालयमा एक

First slide

सम्पादकीय: छेलाम अब नयाँ वेबसाईटका साथ 

एउटा ईतिहास बोकेको कुलुङ भाषाको रेडियो कार्यक्रम ‘रोक्तोखोम’ सप्तकोशी एफ एम ईटहरीबाट एक दशक भन्दा बढी लामो समय सञ्चालन भएर अन्तत बन्द भएको थियो ।

First slide

नेपालमा को हुन् आदिवासी र जनजाति ?

नेपालमा आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठान ऐन ०५८ आएपछि त्यसले नेपालमा पहिलोचोटी आदिवासी जनजातिको पहिचान र मान्यता प्रदान गरेको हो । जसअनुसार